प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ: आरजु राणा

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १४ : ४१
प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्छ: आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । निर्वाचन आयोगमा आयोजित प्रमाणपत्र ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राणाले निर्वाचनबाट प्राप्त अङ्कगणितका अनुसार नयाँ सरकारमा कांग्रेसकै दाबी रहने बताएकी हुन् ।

प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गर्नु स्वाभाविक भए पनि जनताको म्यान्डेट अनुसार कांग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । पार्टीभित्र संसदीय दलको निर्वाचनमा वर्तमान सभापति देउवाको दाबेदारी रहने पनि स्पष्ट पारिन् ।

उनले भनिन् । ‘उहाँ पार्टी सभापतिका रूपमा गठबन्धनलाई जिताएर, कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाएर आउनुभएको छ । पार्टीको संसदीय दलमा उहाँको स्वाभाविक दाबी रहन्छ ।’

संसदीय दलको नेता सर्वसम्मतिमा चयन गर्नुपर्ने सुझावबारे प्रश्नमा उनले भनिन्, ‘कांग्रेस ठुलो पार्टी हो । लोकतान्त्रिक पार्टी भएकाले यहाँ धेरैको दाबी हुनु स्वाभाविक हो । सर्वसम्मत हुने कुरा भन्दा पनि राजनीतिमा आफूलाई स्थापित गर्न निर्वाचनमा जानुपर्छ भन्ने मेरो विश्वास हो । देउवाजीले पार्टीभित्र गिरिजाबाबुसँग चुनाव नै लडेर आउनु भएको हो ।’

प्रतिक्रिया दिनुहोस