काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकलाई विशेष भत्ता

शुक्रबार, १५ असार २०७५, २० : ५२
काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकलाई विशेष भत्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १३ नं वडाका ज्येष्ठ नागरिकलाई आज विशेष भत्ता प्रदान गरेको छ ।  विशेष भत्ता पाउनेमा ७५ वर्ष उमेर पूरा भएका महिला ३८४ र ८० वर्ष उमेर पूरा भएका पुरुष २०२ जना छन् । चार सय ८३ एकल महिला, १९ आंशिक अपांगतायुक्त र २५ पूर्ण अपांगतायुक्तले वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

यीमध्ये महानगर विशेष भत्ता भने ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषले मात्र प्राप्त गर्नेछन् । विशेष भत्तासँगै उनीहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने गरेको छ ।

सामाजिक सुरक्षाका लागि वडाले पहिलो चौमासिकमा रु ६१ लाख ५५ हजार २०० र दोस्रो चौमासिकमा रु ६१ लाख ३९ हजार २०० निकासा गरेको थियो । सो रकम तेस्रो चौमासिकमा आइपुग्दा रु ६१ लाख १९ हजार २०० पुगेको छ ।

कामपा–१३ ले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक विशेष भत्ता वितरण कार्यक्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई पुस्तान्तरण गर्नसके नगर विकासमा ठूलो सहयोग पुग्ने बताए । वडाध्यक्ष ध्रुवनारायण मानन्धरले ज्येष्ठ नागरिकसँगै महिला र बालबालिकाका लागि पनि कामपाले केही विशेष अभियान चाल्नुपर्ने धारणा राखे ।
रासस

 

प्रतिक्रिया दिनुहोस