नेकपामा विद्यार्थी संगठनको एकताका प्रक्रिया सुरु

शुक्रबार, १५ असार २०७५, २० : ४६
नेकपामा विद्यार्थी संगठनको एकताका प्रक्रिया सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ ।  पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०बीच एकता प्रक्रिया शुरु भएको छ । दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए ।

उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ । तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ । दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको छ ।

यस्तैगरी एकता नटुङ्गिँदासम्मका लागि अबदेखि विद्यार्थीको कार्यक्रम गर्दा दुई वटै संगठनको संयुक्त तुलमा गर्ने समेत सहमति भएको सचिव लामिछानेले बताउनुभयो । बैठकमा एकता कार्यदलमा रहनुभएका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ सहभागी रहेका थिए ।

दुई पार्टी एकीकरणपछि पार्टीका भ्रातृ संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने योजना छ । भ्रातृ संगठनको एकताका लागि ती संगठनका दुवै इञ्चार्ज र दुई अध्यक्षको कार्यदल बनाइएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएको थियो ।

प्रतिक्रिया दिनुहोस