इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर विजुली बलेन

अध्यक्ष गुरुङद्वारा फिल्डमै पुगी निःशुल्क मिटर जडान गरी दुई हप्ताभित्र बिजुली बाल्न निर्देशन

सफल खबर संवाददाता

मंगलबार, २७ मंसिर २०७९, ११ : ३५
इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर विजुली बलेन

कालिखोला । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युत्को पोल गाडीसक्दा पनि बिजुली नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो।

अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार अपुग भएकै कारण उक्त गाउँमा बिजुली नबलेको पाईएको थियो । पोल गाडेको तर केहि तार अपुग भएकै कारण लामो समयदेखि बिजुली नबलेको पाइएपछि गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाले अपुग तार व्यवस्था गरिदिने वचन दिदै तत्काल बिजुली बाल्ने व्यवस्था मिलाउन उक्त गाउँमा विद्युत् विस्तारका लागि सहजिकरण गरिरहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिएका थिए ।

‘मैले ताल्तीमा दुई हप्ता भित्र बिजुली बाल्न निर्देशन दिएको छु’ –अध्यक्ष गुरुङले भने । यस्तै उक्त गाउँमा रहेका २२ घर सबै चेपाङ समूदायका भएकाले निःशुल्क मिटर जडानको व्यवस्था समेत गरिने उनले बताए । ‘यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेटको व्यवस्था समेत गरेको छ’ –उनले बताए । अध्यक्ष गुरुङ सहितको निरिक्षण टोलीमा वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि लगायत सम्मिलित थियो ।
 

प्रतिक्रिया दिनुहोस