काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजना र जिआई जेटको सहयोगमा सुरु भएको २ दिने कार्याशाला गोष्टिमा बोल्दै पाण्डेले कृषि जन्य उत्पादनलाई उद्योग मार्फत प्रशोधन गरेर बजार पठाउनसके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताए ।
उनले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशिलताको विकासका गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय आत्मनिर्भताका लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेको भन्दै पूर्व मन्त्री पाण्डेले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको बताए ।
कृषि कार्यका लागि पकेट क्षेत्रको घोषणा र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न सके अहिले देखिएको कृषि अनुदानको अनियमितताको अन्त्य गर्न सकिने उनको धारणा थियो । अहिले नेपालका अधिकासं किसानहरुले मलको अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको अवस्थामा यस समस्याको समाधानका विषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने पाण्डेले बताए ।
साना किसान सहकारीहरुले आफ्नै मल उद्योग स्थापना र सञ्चालन गर्नसक्ने भन्दै उनले यसका लागि केन्द्रीय संघको नेतृत्वले सोच्नुपर्ने धारणा राखे । पूर्व अर्थमन्त्री पाण्डेले जुन क्षेत्रमा जे सम्भावना छ त्यसको पहिचान गरि सरकारले तोकिएको वालीका लागि किसानहरुलाई अनुदान प्रदान गर्न सक्ने बताए ।
किसानहरुलाई सिप, पुँजी, प्रविधि दिने र उत्पादित वस्तुको बजारको सुनिश्चितता गर्न सक्ने वातावरणका बनाउने नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले कृषिजन्य बस्तुको बजारीकरण अहिलेको प्रमुख समस्या रहेको बताए । प्रविधिको प्रयोग गर्दै कृषिलाई उद्यमसंग जोड्न सके कृषिप्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने अध्यक्ष पाठकले दावी गरे ।
अवको केही समयमै ७ सय ५३ वटै पालिकामा कृषि सहकारीहरुको सञ्जालिकरण गर्ने र सहकारी मार्फत उत्पादिन बस्तुको बजारीकरणका लागि पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १६ : ०१
लेखकबाट थप