सहकारीको समस्या समाधानमा मेरो अग्रसरता रहन्छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

सोमबार, २६ मंसिर २०७९, १३ : ०८
सहकारीको समस्या समाधानमा मेरो अग्रसरता रहन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको औंल्याएका छन् । मन्त्री खाँडले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताए । 

‘राज्यको विभिन्न कोषमा रहेको रकम खर्च गरेर बजारमा ल्याउने र त्यो रकमको सदुपयोगितामा संवेदनशील हुने हो भने पनि केहि हदसम्म समस्या समाधान हुनसक्छ । सहकारी अभियानको पछिल्लो मागको विषयमा सरकार संवेदनशील हुन आवश्यक छ’ उनले भने । 

सहकारीमा वर्तमान समयमा देखिएको समस्याको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासंघद्वारा गठित उपसमितिको आयोजनामा आइतबार महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका सल्लाहकारहरुको काठमाडौंमा संयुक्त बैठक बसेको थियो । तीनवटै छाता संघका सल्लाहकारहरूले सहकारीको समस्या समाधानका लागि सक्दो पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सो छलफलमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सहकारीको समस्या सम्बोधनमा आफ्नो पहल रहने बताए ।

उनले भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा अझै ठूलो संख्यामा सहकारीकर्मीहरुको प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिए । महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा रहेको समस्या पहिचान तथा सहजीकरण उपसमितिका सदस्य सचिव महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र समाधानका विषयमा प्रस्तुति गर्दै महासंघ, बैंक तथा नेफ्स्कूनका सल्लाहकारहरूले सहकारी क्षेत्रको समस्या सम्बोधन गराउनका लागि आफ्नो पहलकदमी रहने बताइन् । 

प्रतिक्रिया दिनुहोस