नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा, उपाधिका लागि सिंगापुरसँग खेल्ने

शनिबार, ०१ पुस २०७४, १५ : १८
नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा,  उपाधिका लागि सिंगापुरसँग खेल्ने

मलेसियालाई पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

समूह ए को बिजेता बनेर सेमिफाइनलमा पुगेको नेपालले अब फाइनलमा सिंगापुरको सामना गर्ने छ । शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङलाई ८ विकेटले पराजित गर्दै सिंगापुर फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार हुने छ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको १२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसिया मात्र २१ ओभर १ बलमा ५५ रन जोड्दा अलआउट भयो । मलेसियाका सन्देश सुप्रामनियमले १६ तथा महम्मद शाहिद बिन र महम्मद अमिरुलले समान ८ – ८ रन जोडे  ।  त्यसबाहेक मलेसियाका कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न नेपालका सुर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३४ ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । मैदान भिजेको कारण ३४ ओभरमा झारिएको खेलमा नेपालले खराब सुरुवात गरेको थियो । अघिल्ला खेलमा उच्च स्कोर बनाएको नेपालले मात्र ११ रन जोड्दा ओपनर कुशल मल्ललाई ६ रनमा गुमाएको थियो । त्यस्तै नेपालले मात्र ६५ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिष जिसीले नेपालको पारी सम्हालेका थिए । जिसीले सर्वा्धिक २५ रन जोडेपछि नेपालको सम्मानजनक योगफल बनेको थियो ।

त्यस्तै नेपालका लागि नारायण जोशी र सुनिल भण्डारीले समान १७ – १७ रन जोड्दा विशाल बिक्रम केसीले १५ रन बनाए । त्यसबाहेक नेपालका तृत राज दासले १३, राजन मगरले ११ र  कप्तान रित गौतमले ११ रन बनाए । नेपालका निखिल कुमार सिंह ६ तथा सुर्य तामाङ १ रनमा अविजित रहे । मलेसियाका मोहमद अफिकले ३ तथा असलम खान मलिकले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस