स्याङ्जा–२ मा पद्मा अर्याललाई पराजित गर्दै धनराज गुरुङ विजयी

सफल खबर संवाददाता

शनिबार, १७ मंसिर २०७९, २१ : १३
स्याङ्जा–२ मा पद्मा अर्याललाई पराजित गर्दै धनराज गुरुङ विजयी

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरले नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।

गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी बनेका हुन् । एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् ।

समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस