क्यान महासंघले ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

बुधबार, १३ असार २०७५, १७ : ५९
क्यान महासंघले ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने


चितवन । कम्प्युटर एशोसिएशन महासंघ (क्यान)ले सूचना प्रविधि विषयमा पढ्न चाहने विद्यार्थीको लागि ४९ जना बिद्यार्थीलाई यही शैक्षिक सत्रदेखि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । देशमा सुचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले क्यानले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

क्यान महासंघ प्रदेश नं ३ ले  आज भरतपुरमा पत्रकार सम्मेलन गरी यस बारे जानकारी दिएको हो । लर्डबुद्ध एजुकेशन फाउण्डेसन को सहकार्यमा महासंघले क्यान नेशनल आइसीटी स्कलरसीप –२०७५  कार्यक्रम शुरु गर्न लागेको हो । कार्यक्रममा बोल्दै प्रदेश नं ३ क्यान महासंघका उपाध्यक्ष विनोद पौडेलले आइसीटी क्षेत्रमा पढ्न चाहने गरीव तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग पुगोस भन्ने हेतुले छात्रवृत्ति कार्यक्रम शुरु गर्न लागिएको बताए । ग्रामीण क्षेत्रमा सुचना प्रविधिको विकास गर्न र  सबै नागरिकमा यसको पहुंँच पुरयाउने उद्धेश्यले छात्रवृत्ति कार्यक्रम शुरु गर्न लागिएको उनको भनाई छ ।
क्यान महासंघका सहकोषाध्यक्ष शेखर दुलालले देशका बिभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोगको तुलनामा दक्ष जनशक्तिको उत्पादन कम भएको भन्दै यस क्षेत्रमा विद्यार्थीलाई आकर्षित गर्नका लागि  कार्यक्रम उपलब्धीमुलक हुने बताए । यस्तै कार्यक्रमका बिशेष अतिथि एवं लर्डबुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले आजको युग सूचना प्रविधिको युग भएकोले , यस्ता कार्यक्रमले देशको लागि आवश्यक जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने  बताए । जसको लागि फाउण्डेसनले १ करोड ८३ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराउन लागिएको उनले जानकारी दिए ।
उनका अनुसार छनौट भएका विद्यार्थीले लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा विएसआइटी तहमा अध्ययन गर्न पाउनेछन । देशका सातवटै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एकजनालाई पूर्ण छात्रवृत्ति र ६ जनाले आंशिक छात्रवृत्ति पाउने छन । बिद्यार्थीले दिएको आवेदनलाई   क्यान महासंघ जिल्ला , प्रदेश तथा केन्द्रीय स्तरको समितिले उनीहरुको योग्यता, दक्षता, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारीशको आधारमा छात्रवृत्तिको लागि छनोट गरिने क्यान महासंघले बताएको छ । प्रमुख अतिथि क्यान महासंघका सहकोषाध्यक्ष शेखर दुलाल रहेका कार्यक्रममा क्यान महासंघ प्रदेशनं ३का उपाध्यक्ष विनोद पौडेलले अध्यक्षतामा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस