चितवनमा घडियाल गोहीका २११ बच्चा कोरलिए

बुधबार, १३ असार २०७५, १३ : ४२
चितवनमा घडियाल गोहीका २११ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गँुडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् ।

निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गँुड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गँुड पानीले बगाएको र अन्य दुईवटा गँुडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गँुडबाट बच्चा कोरलिएको, एक गँुड पानीले बगाएको र तीन गँुडमा बच्चा कोरल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रजनन् केन्द्रमा पाँचवटा गुँड रहेकामा दुईवटा गँुडबाट बच्चा कोरलिएको भए पनि अन्य तीन गुँडका अण्डा भने बिग्रिएको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

गोहीको बच्चा हुर्काउन निकै कठिन हुने गर्दछ । विगतको अनुभवलाई हेर्दा हाल कोरलिएका बच्चामध्ये १०० हाराहारी बचाउन सकिने उहाँको भनाइ छ । गत वर्ष पनि यसै हाराहारीमा बच्चा बचेका थिए । हाल प्रजनन् केन्द्रमा ५२० गोही रहेका छन् ।

यस वर्ष ११९ वटा गोहीका बच्चा हुर्काएर राप्ती नदीमा छाडिएको छ । हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी, बबई र कणाली नदीमा एक हजार ३६५ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार पछिल्लो गणनाअनुसार ती नदीमा हाल १९८ गोही मात्र बाँकी रहेका छन् । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस