घडियाल गोही खोज्दै जाँदा नारायणीमा डल्फिनको बच्चा भेटियो

बुधबार, १३ असार २०७५, १३ : ३५
घडियाल गोही खोज्दै जाँदा  नारायणीमा डल्फिनको बच्चा भेटियो

चितवन । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।

यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताउनुभयो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताउनुभयो । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उहाँको छ । संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस