गठबन्धनबाट कांग्रेसले बढी फाइदा लियो, हामीले शिक्षा लियौँ : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, १४ : ५८
गठबन्धनबाट कांग्रेसले बढी फाइदा लियो, हामीले शिक्षा लियौँ : अध्यक्ष नेपाल

राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो परिणाम नदिएको बताएका हुन् ।

उनले आफ्नो पार्टीले सोचेको भन्दा धेरै कम परिणाम आएको बताउँदै यसको राम्रोसँग मूल्याकंन तथा समीक्षा गर्ने बताए । ‘कांग्रेसले फाइदा लियो । फाइदा लिन सक्नेले फाइदा लियो,’ उनले भने , ‘ फाइदा दिने हामीहरु । मत परिणामले हामीलाई शिक्षा दिएको छ ।’

अर्को एक प्रसंगमा उनले एकता र सिद्धान्त मिले वामहरुबीच एकता सम्भव रहेको बताए । ‘वामहरु सिद्धान्तको निम्ति, आर्दशको निम्ति अघि बढ्न चाहेका हुन् भने तीनीहरुको बीचमा विचार र भावना मिल्नुपर्छ, एकता हुन्छ,’ उनले भने, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने  त्यो गतल प्रवृत्तिसँग एकता सम्भव छैन ।’

अध्यक्ष नेपाले अबको सरकार कसको बन्छ भन्ने यकीन नभए पनि अहिलेकै गठबन्धनको बन्न सक्ने अनुमान लगाए ।उनले आफ्नो विजय सिंगो रौतहटवासीको विजय भएको बताउँदै रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र समृद्धि हासिल गर्न निरन्तर कृयाशील हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नम्बर– १ बाट उम्मेदवार बनेका नेपाल नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस