समानुपातिक मतगणना अब सर्लाही र सुनसरी मात्र, कस्तो आयो त मतपरिणाम ?

शनिबार, ०१ पुस २०७४, ११ : ३५
समानुपातिक मतगणना अब सर्लाही र सुनसरी मात्र,  कस्तो आयो त मतपरिणाम ?

चितवन, ०१ पुष । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा अझै आएको छैन । निर्वाचन आयोगका अनुसार अब सुनसरीको क्षेत्र नम्बर ३ र सर्लाहीको क्षेत्र नम्बर २ को मतगणना बाँकी छ । आज दिउँसो सम्ममा अन्तिम मतगणना आउने आयोगले जनाएको छ।

अन्तिम अवस्थामा आइपुग्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा आफ्नो उपस्थिति कायमै राख्दै दोस्रोमा उक्लिएको छ ।

बिहान साढे ९ बजेसम्म प्राप्त विवरण अनुसार  करिब १ करोड मत गनिइसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत पुर्‍याए ।

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ । राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।

गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ। समानुपातिकतर्फ ४/५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई गणना गरिने छैन ।

३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ। समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा पनि सिट पाउनेछैनन् ।

प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत पुर्‍याए मात्र राष्ट्रिय पार्टी बन्न सक्छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत पुर्‍याएमा प्रतिनिधित्व त पाउनेछ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन ।

प्रत्यक्षमा एक सिट जितेका नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशतभन्दा तल देखिएकाले र अब गणना पनि धेरै बाँकी नरहेकाले ती दल राष्ट्रिय पार्टीको सूचीमा अटाउनेछैनन् ।

बिहान साढे ९ बजेसम्म
    नेकपा एमाले : ३१,३०,४२९
    नेपाली कांग्रेस : ३०,६८,३२४
    माओवादी केन्द्र : १२,७४,५४४
    संघीय समाजवादी फोरम : ४,५९,५९९
    राष्ट्रिय जनता पार्टी राजपा : ४,४७,८७९
    विवेकशील साझा पार्टी : २,११,५१४
    राष्ट्रिय प्रजातन्त्र पार्टी : १,९३,९५५
    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,५३३
    नयाँ शक्ति पार्टी, नेपाल : ८०,७४२
    राष्ट्रिय जनमोर्चा : ६२,०४५
    अन्य: ३,४७,९२०

 

प्रतिक्रिया दिनुहोस