प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि : राष्ट्रिय परीक्षा बोर्ड

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १६ : ४२
प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक कमजोरीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा त्रुटि हुन गएको स्पष्ट पारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले प्राविधिक कमजोरीका कारण एसईईको नतिजामा त्रुटि हुन गएको स्पष्टिकरण दिनुभएको हो । एसईईको नतिजाको ग्रेडिङ २४ घण्टा नबित्दै परिवर्तन भएको विषयलाई लिएर आलोचना भइरहेका बेला बोर्डले प्राविधिक त्रुटिका कारण एसईईको नतिजा सच्याउनु परेको जनाएको हो ।

बोर्डले एसईईको ग्रेडिङ फेरबदल गरेपछि सरकारले त्यसको सत्यतथ्य छानबिन गर्न समिति नै गठन गरेको छ । शनिवार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्डका अध्यक्ष पौडेलले घटनाबारे यथार्थ जानकारी गराउन आफूहरुको मागअनुसार नै छानबिन समिति गठन गरिएको दावी समेत गर्नु भयो ।

छानबिन समितिलाई एसईईको नतिजा सार्वजनिक गर्दा भएको प्राविधिक त्रुटिबारे छानवीन गरी आगामी दिनमा त्यस्ता गल्ती हुन नदिन आवश्यक सुझाव दिन कार्यादेश दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस