भरतपुर महानगरको दोस्रो नगर सभा

समृद्धिको संकल्पसहित नीति तथा कार्यक्रम र बजेट पारित

मंगलबार, १२ असार २०७५, १५ : ४१
समृद्धिको संकल्पसहित नीति तथा कार्यक्रम र बजेट पारित

चितवन । भरतपुर महानगरपालिकाको दोस्रो नगर सभा नीति तथा कार्यक्रम र बजेट पारित गर्दै सकिएको छ । आइतबार सुरु भई मंगलबार सकिएको दोस्रो नगर सभाका सहभागी जनप्रतिनिधिले महानगरको समृद्धिको लागि सामूहिक संकल्प गर्दै महानगर प्रमुख रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख पार्वती शाह ठकुरीबाट प्रस्तुत बजेट पारित गरेका हुन् ।
मंगलबार बिहान ७ बजेदेखि सुरू भएको सभामा ४० जना नगर सभासदहरूले बजेट र नीति तथा कार्यक्रममाथि आवश्यक संसोधनसहित दफाबार छलफल गरेका थिए । उनीहरुले जनतामा हुने सेवा प्रवाहमा एकरूपता ल्याई सेवालाई चुस्त बनाउनु पर्ने बताएका छन् । नगर सभासदहरुले पूर्वाधार विकासमा जोड दिँदै सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र सामाजिक विकासको क्षेत्रमा गुणात्मक विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
दोस्रो नगर सभा समापन सभामा बोल्नु हुँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरको दोस्रो नगर सभा भब्य र सभ्यरूपमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले महानगरपालिकाको समृद्धि यात्रामा एकढिक्का भएर कार्य क्षत्रमा खटिन जनप्रतिनिधि र सरोकारवालालाई आग्रह गर्नुभयो ।


समापन समारोहमा सहभागी जनप्रतिनिधिहरुले महानगरको समृद्धिका लागि सामूहिक प्रतिवद्धता जनाएका थिए । नगर सभा समापन कार्यक्रममा उपप्रमुख ठकुरी, वडा अध्यक्षहरू अरूण पीडित भण्डारी, चित्रसेन अधिकारी, प्रकाश दवाडी, चक्रपाणी सुवेदी, चन्द्रमित्र पण्डित, नगर कार्यपालिका सदस्य चक्र रूचाल, नगर सदस्यहरू भगवती गौतम, डिल्लीराम लामिछाने, तिलक दर्लामी, सीता दर्जी, इन्दु पण्डित, किशोर पौडेल लगायतले आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।


महानगर प्रमुख दाहालले दोस्रो नगर सभामा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा बत्तीस वटा मुख्य आकर्षण फेला छन् । यी आकर्षण कुनै नाराका रुपमा र कुनै कार्यक्रमका रुपमा आएका छन् । दोस्रो नगर सभाले आर्थिक वर्ष २०७५/७६ को लागि तीन अर्ब चौँतीस करोड रुपैयाँको आय–व्यय विवरण (बजेट) पारित गरेको छ । यो रकम २९ वटा वडा कार्यालय र महानगरपालिकामार्फत् महानगरको नीति तथा कार्यक्रमलाई सफल बनाउन खर्च गरिने छ ।

प्रतिक्रिया दिनुहोस