ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क

एजेन्सी

मंगलबार, ०६ मंसिर २०७९, १४ : ५०
ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क

न्युयोर्क । सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने ।

केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस