मतगणना आजै बेलुका ९ बजेदेखि, ८ दिनभित्रै नतिजा : प्रमुख निर्वाचन आयुक्त थपलिया

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ०८ : ३९
मतगणना आजै बेलुका ९ बजेदेखि, ८ दिनभित्रै नतिजा : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं र तराईका जिल्लामा आज राति ९ बजेबाट नै मतगणना कार्य शुरू हुने जानकारी दिएका छन् । 

आइतवार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित केन्द्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि मतदान गरेपछि प्रमुख आयुक्त थपलियाले आजै मतगणना शुरू गर्ने तयारी रहेको बताएका हुन् ।

‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुन्छ । ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ । हिमाली जिल्लामा मतपेटिका आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट मतगणना शुरू गर्ने भनेका छौं,’ थपलियाले भने ।

थपलियाले प्रत्यक्षतर्फ ८ दिनभित्र र समानुपातिकतर्फ २२ गतेभित्र नतिजा नतिजा आइसक्ने दाबी गरे । उनले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मतगणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने समेत बताए ।

प्रमुख आयुक्त थपलियाले व्यवस्थित र शान्तिपूर्ण ढंगले मतदान सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस