कसरी गरिँदैछ मतगणना ?

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, ०७ : २७
कसरी गरिँदैछ मतगणना ?

फाईल तस्वीर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ ।

स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । उनले भने, “हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।”

स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।

उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो । यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ ।

आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणना गर्न कार्यका लागि व्यवस्था मिलाउन यसअघि नै निर्देशन दिइएको छ । मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन र भण्डारण गरिनेछ । त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ । 

पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरुमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ हुनेछ । गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुनेछ । कतिपय निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक–एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको पाइएको छ ।

सबैभन्दा पहिला मतगणना प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र त्यसपछि प्रदेशसभा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको गरिने छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस