भोलिदेखि ४ दिन रेल सेवा बन्द हुने

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १२ : ५३
भोलिदेखि ४ दिन रेल सेवा बन्द हुने

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले भोलिदेखि चार दिन रेल सेवा बन्द गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ गतेदेखि ४ गतेसम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी बताए।

मंसिर ४ गते आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै रेल सेवा बन्द गरिएको र मंसिर ५ गतेदेखि पुनः नियमित सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय धनुषाले मंसिर १ गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ। हाल जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल विधिबाट हरियो झण्डा देखाएपछि रेल सेवा सञ्चालनमा आएको हो।

प्रतिक्रिया दिनुहोस