सतारुढ गठबन्धनको आयु लामो छः गिरीराजमणि पोखरेल

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १४ : २४
सतारुढ गठबन्धनको आयु लामो छः गिरीराजमणि पोखरेल

महोत्तरी। महोत्तरी क्षेत्र नं. १ मा सतारुढ गठबन्धनकोतर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँच दलीय गठबन्धनको साथ छ । पोखरेल अधिकांश समय चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । नेता पोखरेलसँग चुनावी सन्दर्भमा  गरेको कुराकानीः

पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा उत्रिनुभएको छ । कहिलेसम्म टिक्ला यो गठबन्धन ?

हामी पाँच दलीय गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौँ । सिट बाँडफाँट गरेर देशभरिमा नै चुनावी प्रतिस्पर्धामा छौँ । यो गठबन्धनकै आधारमा देशले बहुमतको सरकार पाउनेछ । यसमा कुनै संकोच छैन । अहिले देशलाई विकासको माध्यमले निकास दिनु आवश्यकता छ । जुन कार्य गठबन्धनले मात्र गर्न सक्छ ।

अहिले देशको मुहार परिवर्तनका लागि सत्तारुढ गठबन्धनको आवश्यकता छ । त्यसैले यो गठबन्धनको आयू लामै छ । फेरि यो गठबन्धन प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा गर्न बनेको हो । हामी पाँचै दल त्यसमा एक मत छौँ । संविधानको सफल कार्यान्वयनका लागि पनि यो गठबन्धन आवश्यक छ ।

यसअघिको निर्वाचनमा यहाँको पार्टीले नेकपा एमालेसँग वामगठबन्धन गरेको थियो । तर त्यो गठबन्धन त टिकेन नि ?

वि.सं. २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको चुनावी एकताकै कारण देशले तत्कालीन समयमा केपी शर्मा ओलीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार पायो । तत्पश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भयो ।

समयको क्रमसँगै केपी ओली गुटकै कारण हाम्रो पार्टी पूर्ववत रूपमा फर्किनुपर्‍यो । म देशहितको लागि मन्त्री पद त्यागेर पार्टीको काममा लागेँ । त्यसकारण त्यो बेलाको गठबन्धन र अहिलेको गठबन्धनको तुलना हुँदैन । अहिले संविधानको रक्षा गर्ने र प्रतिगमन रोक्ने हाम्रो मुख्य उद्देश्य हो ।

माओवादीका कार्यकर्ताहरूले पनि पार्टी छाडेका छन्, यसबारेमा के भन्नुहुन्छ ?

केपी ओलीका कारण नेकपा विभाजित भएपछि हाम्रो पार्टीका केही नेता-कार्यकर्ताहरू एमालेमा लाग्नुभएको कुरा साँचो हो । तर, उहाँहरू जुन गतिमा पार्टी छाडेर एमालेमा जानुभयो त्यो भन्दा तीव्र गतिमा पार्टीमा फर्कंदै हुनुहुन्छ । एमालेमा गएका साथीहरू वाक्क भएर माओवादीमा फर्कंदै हुनुहुन्छ । तपाईं मुलुकभरको स्थिति हेर्न सक्नुहुन्छ । म अहिले ती कुराहरूमा चर्चा गर्न चाहन्नँ । महोत्तरीका टेक बहादुर बलम्पाकी माओवादीमै फर्किनुभयो भने रौतहटका प्रभु साह अहिले एमाले परित्याग गरी स्वतन्त्रबाट चुनावमा उत्रिनुभएको छ । यो तस्वीरले तपाईंले सोधेको प्रश्नको उत्तर दिँदैन र ?

आगामी चुनावको परिणाम कस्तो आउला ?

सतारुढ पाँच दलीय गठबन्धनका कारण हामी बलियो छौँ । यो गठबन्धनले बहुमत पाउनेछ । यसैका आधारमा सरकार बन्नेछ । ढुक्क हुनुस् गठबन्धनले बहुमत ल्याउँछ । गठबन्धनको पक्षमा धेरै माहोल बनेको छ । गठबन्धन बाहिरका कतिपय नेताहरूको हिसाब फेल हुने गरी गठबन्धले मत ल्याउँछ ।

तपाईं महोत्तरी क्षेत्र नं. १ बाट चौथौपटक उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, तपाईंलाई किन जिताउने ?

मैले यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान निर्माणमा आफ्नो भूमिका खेलेँ । जनताको पक्षमा संविधान बन्यो । भूकम्प, मधेश आन्दोलन, कोरोना महामारीका कारण निकै चुनौतीपूर्ण अवस्थामा पनि म यहाँका जनतासँग जोडिएर काम गरेँ । तपाईं १५ वर्ष पहिले र अहिलेको बर्दिबासको तुलना गर्नुस् । महोत्तरीमा निकै विकास भएको छ । यो क्षेत्रमा रणनीतिक महत्त्वका कामहरू भएका छन् । भन्नलाई त नेताले केही गरेनन् भन्न सजिलो होला । तर, हामीले गरेको काम हेर्नुस् । त्यसै यहाँका जनताले पटक पटक माया गर्नुभएको त होइन होला नि । सोही कारण यहाँको विकास, संविधानको रक्षा र समृद्धिका लागि यहाँका जनताले मलाई पुनः मत दिनुहुन्छ ।

शिक्षामन्त्री हुँदा देशकै गौरवको रूपमा परिचित बर्दिबास मेडिकल कलेजको प्रक्रियाको शुभाराम्भ गरेँ । गौशाला आयुर्वेदिक शिक्षालय र गौशालामा रेल्वे ईन्जिनियरिङ कलेजको पठनपाठन गराउने योजना अगाडि ल्याएको छु । त्यस्तै निगौल गाई गौशालामा गाईको अनुसन्धान र पशु तथा कृषि शिक्षाको लागि नगरपालिकाको समन्वयनमा चितवनको रामपुर कलेजको आंगिक कलेजको रूपमा पठनपाठन गराउने प्रक्रिया अन्तिम चरणमा छ ।

मतदाताको अपेक्षाचाहिँ कस्तो पाउनुभयो ?

यहाँका जनताको मुख्य चिन्ता र चासो शिक्षा र स्वास्थ्यको विकासमा रहेको छ । म चाहन्छु यहाँका सर्वसधारणले स्वास्थ्य र शिक्षा सर्वसुलभ र सहज रूपमा पाउन्, त्यसबाट कोही पनि वञ्चित हुन नपरोस् । जनताको अपेक्षा पनि यही छ । त्यसका लागि यो क्षेत्रका जनता मलाई नै नेतृत्व दिन उत्सुक हुनुहुन्छ । म यो क्षेत्रको विकासका लागि ठूला-ठूलो योजनाहरू ल्याउनेछु ।

तर, गत स्थानीय चुनावमा यो क्षेत्रमा माओवादीले अपेक्षाकृत नतिजा निकाल्न सकेको थिएन, हैन र ?

स्थानिय निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बीचमा धेरै भिन्नता छ । प्रतिनिधिसभाको निर्वाचनमा जनताहरू राष्ट्रिय एवम् दीर्घकालीन मुद्दाको सम्बोधन होस् भन्ने चाहना राख्छन् । त्यसका लागि दक्ष, अनुभवी, प्रखर वक्ता अनि जुझारु नेताहरू छानिन्छन् । यस क्षेत्रका जनताको मनसाय पनि त्यस्तै देखेको छु । अहिलेका मतदाता हरेक विषयवस्तुलाई सूक्ष्म ढंगले मनन गरिरहनुभएको छ । त्यसैले स्थानीय निर्वाचनमा जे जति कारणले उम्मेदवारहरू पराजित हुनुभयो अहिले त्यस्तो स्थिति छैन । तर, दुवै चुनावको लागि साझा विषय भनेको जनताको मत नै हो । मैले ती चुनावमा भएका कमी कमजोरीलाई पहल्याउने कोसिसमा छु । म ती गतिविधीलाई एकदमै निकटबाट मनन गर्दै अगाडि बढ्दैछु । वैशाखमा असन्तुष्ट रहनुभएका नेता-कार्यकर्ताहरू पनि अहिले पार्टीको पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस