आगामी निर्वाचनमा गठबन्धनको जित अपरिहार्य : कृष्णप्रसाद सिटौला

सफल खबर संवाददाता

शुक्रबार, २५ कार्तिक २०७९, २१ : १९
आगामी निर्वाचनमा गठबन्धनको जित अपरिहार्य : कृष्णप्रसाद सिटौला

झापा । सत्तारुढ दल नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गठबन्धनले जिन्ते बताएका छन् । देशमा स्थायी समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताउँदै उनले आगामी निर्वाचनमा गठबन्धनको जित अपरिहार्य रहेको उनको भनाइ छ ।

शुक्रबार झापाको चन्द्रगढीमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका काँग्रेस नेता सिटौलाले अहिलेको युग लोकतन्त्र, संघीयता र समानुपातिक समावेसी सिद्धान्तको युग भएको बताए ।

उनले भने, ‘सबै क्षेत्रका जनता मिलेर अगाडि बढ्ने अहिलेको युगलाई साकार बनाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न गठबन्धन सक्षम रहेको छ ।’ लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिटौलाले समृद्धिका लागि सबैले गठबन्धनलाई मत हाल्नुपर्ने बताए ।

कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन चुनाव जित्नका लागि मात्रै नभएर समग्र देश र जनताको विकासका लागि गरिएको बताए । बाम गठबन्धनबाट झापा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका शर्माले जनतालाई निर्धक्क भएर आफूहरुलाई मत हाल्न आग्रह गरे ।

कार्यक्रममा सत्तारुढ दल गठबन्धनका जिल्लादेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस