कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन : नैनसिंह महर

सफल खबर संवाददाता

मंगलबार, २२ कार्तिक २०७९, १२ : ०३
कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा  रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिएका हुन्।

मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिए ।‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ,’ उनले भने।

केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बीनाको फुटबल खेल जस्तै भएको बताए । ‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बीनाको भइरहेको छ,’ उनले भने । संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवा जित नै अहिलेको आवश्यकता भएको महरले बताए।

‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन । २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाई मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो । उहाँले न त सरकार जोगाउन सक्नु भयो न त पार्टी नै । उल्टै पटक–पटक संसदमाथि प्रहार गर्नुभयो,’ उनले भने । ओलीका कारण अन्योलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएर शान्तिपूर्ण रुपमा निर्वाचनको  वातावरण बनेको महरको भनाइ छ।

प्रतिक्रिया दिनुहोस