बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १३ : २६
बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तान बंगलादेशलाई हराउँदै आइसिसी टि-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आइतबार एडिलेड ओभलमा भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो । समूह-२ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

बंगलादेशले दिएको १ सय २७ रनको लक्ष्य पाकिस्तानले १८. १ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र बाबर आजमले क्रमश: ३२ र २५ रनको योगदान गरे । मोहम्मद हरिसले २ छक्का र १ चौकाको मद्दतमा ३१ रन जोडे । 

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, नसुम अहमद, शकिब अल हसन र इबादोत हुसेनकाे नाममा एक/एक विकेट रह्यो । यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए ।

ओपनर लिटन दास ८ बलमा १ छक्कासहित १० रनमा आउट भए । उनी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीका बलमा शन मसुदबाट क्याच भए । सौम्य सरकार १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले ४ विकेट लिए । सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । पाकिस्तान ५ खेलमा ३ मा जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

प्रतिक्रिया दिनुहोस