लाखेनाच प्रतिष्ठानमा नयाँ नेतृत्व

शुक्रबार, २९ मंसिर २०७४, १८ : ५७
लाखेनाच प्रतिष्ठानमा नयाँ नेतृत्व

नारायणगढ । लोक सँस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको शुक्रबार नारायणगढमा सम्पन्न प्रथम अधिवेशनले निर्जनलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शान्तकुमार पिया, सचिवमा इश्वरकुमार श्रेष्ठ र कोषाध्यक्षमा शुभद्रा श्रेष्ठ रहनु भएको छ । सदस्यमा राजेन्द्र श्रेष्ठ, मीरा श्रेष्ठ, निला पालिखे श्रेष्ठ, दिनेशकुमार चुके र सहन प्रधान रहनु भएको छ । 
अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नवनिर्वाचित सांसद कृष्णभक्त पोखरेलले हाम्रा सँस्कृतिको मौलिकता रक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लाखेनाच नेवारहरुको मात्र नभई सबै नेपालीको सँस्कृति भएको विचार व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सामाजिक सद्भाव कायम राखेर सबै जातिको सँस्कृति संरक्षण सबै मिलेर गर्नुपर्ने बताउनु भयो । उहाँले जातजातिको हिसाबले हाम्रो समाजमा कुनै विभेद नरहेको बताउनु भयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार पियाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेवा दे दबुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, केन्द्रीय सदस्य जयकुमार श्रेष्ठ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, भरतपुर महानगरपालिका वडा नम्बर एकका अध्यक्ष जयराम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस