संसदीय समितिका निर्देशनलाई प्रक्रिया पूरा गर्ने माध्यम नठानौं : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

विहीबार, १७ कार्तिक २०७९, १८ : ३३
संसदीय समितिका निर्देशनलाई प्रक्रिया पूरा गर्ने माध्यम नठानौं : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा सांसदहरु उठाएका कुराहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन ग्रहण गर्दै यस्तो बताएका हुन् ।

उनले संसदमा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभइ जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले संसदबाट पास भएका प्रतिवेदनहरुलाई सम्बन्धित निकायहरुले तदारुकताकासाथ कार्यान्वयनमा लैजनुपर्ने बताए ।

उनले सर्वसम्मतले पास भएका प्रतिवेदनहरुको कार्यान्वयनमा कुनैपनि विघ्नबाधा हुनु नहुने बताए । उनले समितिले दिएका प्रतिवेदनहरुको कार्यान्वयन गर्नसकेमात्रै संघीयता झनै बलियो बन्ने दाबी गरे । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिले दिएका निर्देशन र प्रतिवेदनहरुलाई प्रक्रिया पूरा गर्ने माध्यमको रुपमा नलिन पनि आग्रह गरे ।

उनले प्रतिवेदनहरुलाई प्रक्रिया पूरा गर्ने माध्यम सोच्ने हो भने सिंगो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए । उनले भने, ‘संसदमा सांसदहरुले बोलेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सम्बन्धित अन्य निकायले पनि गम्भीरतापूर्वक लिनुपर्छ । त्यो एउटा व्यक्ति बोलेको हो भन्ने मात्रै बुझ्नु हुँदैन । किनकी त्यसले संसदीय व्यवस्थालाई बलियो बनाउने कुरा, संसदलाई मर्यादित बनाउने कुरा, जवाफदेही बनाउने कुरामा त्यसको महत्व हुन्छ । त्यो कति गरेका छौँ । समयक्रममा हामी त्यसको समीक्षा गरौँला । त्यसको आधारमा हामी अघि जानुपर्ने हुन्छ । त्यो भन्दा महत्वपूर्ण संसदले विभिन्न खालका प्रश्तावहरु पास गर्छ, त्यो मध्येको संकल्प प्रश्ताव एउटा महत्वपूर्ण प्रस्ताव हो ।’

प्रतिक्रिया दिनुहोस