नेपालले फाइनल प्रवेशको लागि भोलि मलेसियाको सामना गर्दै

शुक्रबार, २९ मंसिर २०७४, १७ : ४६
नेपालले फाइनल प्रवेशको लागि भोलि मलेसियाको सामना गर्दै

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित थाइल्याण्ड प्रस्थान गरेको नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबार विहान हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ । नेपाली टिम प्रतियोगिताकै बलियो टिम गनिन्छ । डिफेन्डिङ च्याम्पियन नेपालले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । समूह चरणको आफ्नो अन्तिम तथा तेस्रो खेलमा थाइल्याण्डलाई ३३७ रनले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको हो ।

थाइल्याण्डलाई पराजित गर्ने क्रममा नेपालका कप्तान रित गौतमले शतक प्रहार गरेका थिए । निर्धारित ३५ ओभरमा ३५० रनको विशाल योगफल तयार पारेको नेपालका लागि रितले नटआउट १०६ रन बनाएका थिए । त्यस्तै नेपालका अन्य दुई खेलाडीले अर्धशतक प्रहार गरेका थिए । नेपालका तृतराज दासले ६४ र प्रतिश जिसीले नटआउट ६३ रन बनाएका थिए ।

मलेसिया भने समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाले आफ्नो तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले भुटानलाई १७१ रनले र चीनलाई ४ विकेटले पराजित गरेको थियो भने सिंगापुरसँग भने २९ रनले पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा शनिबार नै हङकङले सिंगापुरको सामना गर्दै छ ।

प्रतिक्रिया दिनुहोस