रूपन्देहीको विकासलाई अझैं फराकिलो बनाउछौं : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १६ : ०५
रूपन्देहीको विकासलाई अझैं फराकिलो बनाउछौं : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताएका छन । उनले रुपन्देहीको तिब्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागि परेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझैं फराकिलो बनाउँदै लैजाने बताए ।

गृहमन्त्री खाँणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने विश्वास व्यक्त गरे।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले सोमबार बुटवल १७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरब वृद्धिका लागि निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

२०४८ सालदेखि रुपन्देहीबासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाँणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रष्ट पारे।

गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिंचाई तथा कृषिका सानारठूला दर्जनौं योजना रुपन्देहीमा भित्र्याएर र ती योजनाहरु सफल तुल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको उनले स्मरण गराए । तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिंचाईमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाँणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए। उनले रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने बताए ।

गृहमन्त्री खाँणले मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरुको समस्या दिगो रूपमा समाधान गर्नेतर्फ सरकार लागि परेको बताए। खाँणले यसअघि सरकारका दुई दुई जना बहालवाला मन्त्री आएर औद्योगिक क्षेत्र शिलान्यास गर्न खोज्दा स्थानीयमाथि दमन भएको बताए ।

प्रतिक्रिया दिनुहोस