दोहोरो अंकले बढ्यो शेयर बजार, ६ करोड १७ लाखको कारोबार

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १५ : २९
दोहोरो अंकले बढ्यो शेयर बजार, ६ करोड १७ लाखको कारोबार

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारको बिदापछि खुलेको पहिलो दिनको शेयर कारोबार बढेर बन्द भएको छ ।सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अंकले बढेर एक हजार ८ सय ७४ दशमलब ८७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज कारोबार रकममा भने खासै सुधार भएको छैन । आज नेप्सेमा ६९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३१३.५० रुपैयाँ पुगेको छ नेपाल एसबीआई बैंकको शेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस