आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १८ : ५६
आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताएका हुन्।

उनले ब्यारोमिटरको पारो तल झर्दा आँधिबेहेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे। उनले देशमा विकराल समस्या देखापरिरहेको बताए। उनले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए।

उनले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए।

उनले भने, ‘हामीले निर्वाचनलाई एउटा ब्यारोमिटरको रुपमा लिँदै आएका छौँ। हामीले यसलाई हार, जितभन्दा पनि मुख्य देशको परिस्थिति के–कस्तो छ भनेर जाँच्नको निम्ति ब्यारोमिटरको रुपमा प्रयोग गर्दै आएका छौँ। अहिले हाम्रो विरोध भनेको शासक दलहरु दुई वटा खेमामा विभाजित छन्, तर एउटै सिक्काका दुई पाटा हुन्। तिनीहरु बारम्बार सरकारमा गएको ३० वर्ष भयो। तर देशको समस्या झन् झन् बिकराल र जटिल हुँदै गएको देखा पर्दैछ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताए। उनले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस