प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस् : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, १९ : ०७
प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस् : रामचन्द्र पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए । उनले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए ।

उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवाहरुलाई स्वरोजगार बनाउने र विदेशमा गइ भौँतारिनुपर्ने बाध्यताबाट हुक्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले गठबन्धनले जित्ने कुरा ठूलो नभइ प्रतिगमनलाई रोक्ने कुरा नै ठूलो भएको जिकिर गरे । उनले भने, ‘एक भएर अघि बढ्नुपर्ने परिस्थिति आवश्यक्ता आयो, र अहिलेको निर्वाचनमा एक भएर अघि बढेका छौँ । आफ्ना पार्टीका सिद्धान्त, झण्डा सबैथोक छन्, तर हामी एउटा साझा मुद्दामा एक भएका छौँ । हामीले हरेक जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका, वडासम्ममा सबैले समाजवादी संगठन बनेर कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन सकिन्छ, कसरी सफल पार्न सकिन्छ, कसरी लोकतन्त्र बचाउन सकिन्छ भन्नेकुरालाई मनमा राखेर, अरु कुरा बिर्सेर, महान लक्ष्य राखेर एकता र समझदारी बनाउनु होला ।’

प्रतिक्रिया दिनुहोस