संसदको हत्या गर्ने आँट अब कसैले गर्ने छैनः मन्त्री चौधरी

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, २० : १२
संसदको हत्या गर्ने आँट अब कसैले गर्ने छैनः मन्त्री चौधरी

देउखुरी । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन्।

एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीजस्ता उन्नत व्यवस्थासहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक–पटक प्रहार गरेको बताए।

मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनैपर्ने, सिमान्तकृत जातजातिलाई समावेशी प्रणालीमार्फत राज्यले उनीहरुको उपस्थितिको सुनिश्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्थाजस्ता तमाम नयाँ जनपक्षीय प्रावधान हामीले संविधानमा राख्यौँ। देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आशा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरिरह्यो। तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन।’

मन्त्री चाधरीले आफूले विकास निर्माणका लागि बजेटको व्यवस्था गरेको दाबी गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने बताए।

उनले भने, ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको व्यवस्था भएको छ। अब राप्ती कोरिडोर आयोजनाको डीपीआर हुनेछ। राप्तीको श्रीनारायण चोकदेखि ५५ किलोमिटरमा स्वर्गद्वारी जोडिने बाटोको काम सुरु हुनेछ। त्यस्तै बनगाउँ चोकदेखि स्वर्गद्वारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ। दाङका प्रमुख सहरहरु जोड्ने गरी पोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ।’

प्रतिक्रिया दिनुहोस