ओलीलाई प्रचण्डको कटाक्ष - गोरुगाडावालाहरु देशलाई अझै अराजकतातिर लैजाने योजनामा छन

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १५ : १७
ओलीलाई प्रचण्डको कटाक्ष - गोरुगाडावालाहरु देशलाई अझै अराजकतातिर लैजाने योजनामा छन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडावालाहरु देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको बताए । सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले अब हुने चुनाव अरू सामान्य चुनाव जस्तै नहुने जिकिर गरे । 

‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । हिजो १२ बुँदे समझदारी केपी ओलीले होइन माधवकुमार नेपालले गरेका हुन । नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको हो’ प्रचण्डले भने, ‘गोरुगाडावालहरु कहीँ न कहीँ प्रतिगमनतिरै, अराजकतातिरै देशलाई लैजानेमा छन् । त्यसलाई रोक्न गठबन्धन पक्षधर विजयी हुनै पर्नेछ ।’  

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुने क्रममा निरंकुशता विरुद्ध लड्न हुँदैन भन्ने प्रवृत्ति देखिएको प्रचण्डले स्मरण गरे । एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै प्रचण्डले नेपालमा गणतन्त्र ल्याउने भनेको वयलगाडामा चढेर अमेरिका जानु जस्तै भनेको उल्लेख गरे । ‘तत्कालीन सात राजनीतिक दल माओवादीबीच १२ बुँदे समझदारी हुँदा एकथरी प्रवृत्ति निरंकुश प्रवृत्तिका विरुद्ध लड्न हुँदैन । त्यसका विरुद्ध आन्दोलन गरेर पार लाग्न सकिँदैन । संविधान सभाबाट गणतन्त्र ल्याउने भनेको वैयलगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र  प्रवृत्ति थियो । हामीले बिर्सन हुँदैन’ स्मरण गर्दै  प्रचण्डले भने, ‘तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस शेरबहादुर देउवा पार्टी, माधव नेपाल नेतृत्वको एमाले र हामी सबैले गोरुगाढावाल प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर १२ बुँदे समझदारी गरियौं । जनयुद्ध र जनआन्दोलन शान्तिमा रूपान्तरण भयो,’ उनले देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको बताए । ‘संविधानमा हस्ताक्षर गरेपछि प्रतिगमन,प्रतिक्रान्ति, निरंकुशता र अराजकतातिर जाने छैन भन्ठानियौं । ति सबै धोका र बेइमानी रहेछ भन्ने कुरा प्रष्ट भयो’ प्रचण्डले भने, ‘जति बेला वाम गठबन्धन गरेर कम्युनिस्ट एकता गर्न खोज्ने बेला प्रत्यक्ष अनुभव गरियौं । त्यो बेइमानी रहेछ, त्यो षड्यन्त्र रहेछ । उनीहरूको भित्र चाहना फेरी निरंकुशतन्त्र कायम गर्ने, यो देशलाई प्रतिगमनतिर लग्ने रहेछ ।’

प्रतिक्रिया दिनुहोस