दाङ । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरवार झुण्डिएको बताएका छन्। क्षेत्र नं १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन्।
संकटको बेला नेपालका दलहरू एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनायाैँ। समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरूलाई राज्यको मूल धारमा ल्याउने कानुनी व्यवस्था गरियो। हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो। तर केपी ओलीलाई पचेन। जनताले खुसी मनाए तर केपी ओलीको समूहले त्यो खुसी देख्न सकेन। त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरवार झुण्डिएको छ।’
राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही-लमही, घोराही-तुल्सीपुर, लमही-रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्वारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्वारी जोड्ने बाटो निर्माण जस्ता महत्त्वपूर्ण योजनाहरू आफूले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवारसमेत रहेका सहरीमन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरीलगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ असोज २०७९, १३ : ५९
लेखकबाट थप