शाहरुख अभिनित चलचित्र ‘जवान’ रिलिजअघि नै नाफामा

सफल खबर संवाददाता

शनिबार, २९ असोज २०७९, १३ : १३
शाहरुख अभिनित चलचित्र ‘जवान’ रिलिजअघि नै नाफामा

एजेन्सी । बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जवान’ रिलिजअघि नै नाफामा छ । खानको उक्त चलचित्रलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् । यसअघि खान धेरै चलचित्रमा क्यामियो रोलमा देखिएका थिए । कोरोना अघि उनको अन्तिम फिल्म ‘जीरो’ थियो । लामो समयको ब्रेकपछि अब सन् २०२३ मा खानको तीन ठूला चलचित्र ‘पठान’, ‘जवान’र ‘डङ्की’ रिलिज हुँदैछन् । जसमध्ये ‘जवान’को ओटीटी अधिकार बिक्रि भइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त चलचित्रको ओटीटी अधिकार र प्लेटफर्मको लागि प्रतिस्पर्धा छ । भारतीय सञ्चार माध्यमका अनुसार नेटफ्लिक्स र अमेजन प्राइम यस रेसमा सबैभन्दा अगाडि छन् । ‘जवान’ स्याटेलाइट अधिकार २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको छ भने चलचित्रको ओटीटी अधिकार अमेजन प्राइमले १ सय करोड भारतीय रुपैयाँमा खरिद गरेको छ । जसले रिलिज अगावै राम्रो कमाई गरेको छ ।

चलचित्रमा शाहरुख खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् । निर्देशक एटली कुमारले निर्देशन गरेको यस चलचित्रमा गौरी खान निर्माता रहेकी छन् । चलचित्रमा खान दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । खान र नयनताराका अलाव सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि चलचित्रमा अभिनय रहेको छ ।

उक्त चलचित्र २ जून २०२३ मा पान इन्डिया रिलिज हुने छ । चलचित्र हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस