नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १९ : १२
नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनु संवैधानिक अधिकार भएको बताएका छन् । उनले कुनैपनि नागरिक नागरिकताबाट बञ्चित हुन नहुने बताउँदै यसतर्फ सरकार सचेत रहेको र नेपालीलाई नागरिकता दिएरै छाड्ने प्रतिबद्धता जनाए ।

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले शुक्रबार भैरहवामा वडास्तरीय प्रचार–प्रसार कार्यालयको उद्घाटन गर्दै संवैधानिक अधिकार अनुसार वर्तमान सरकारले नेपालमै जन्मिएका, नेपालमै हुुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा नरहेको समेत प्रस्ट्याए ।

गृहमन्त्री खाँणले सरकारले ल्याएको नागरिकता बिधेयक नेपालमा जन्मिएर अनागरिक बस्नुु परेकालाई रहेको उल्लेख गरे । नागरिकता नहुँदा धेरै नेपालीहरु आफ्नो अधिकारबाट बञ्चित हुनुु परेको उल्लेख गर्दै उनले मानव अधिकारको विश्वब्यापी मान्यता अनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनुु सरकारको दायित्व भएको बताए ।

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउन खोज्नेहरुलाई जनताले चिनिसकेकाले आगामी निर्वाचनमा त्यस्ता शक्ति दण्डित हुने पनि उनको विश्वास छ । उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानविपरीत काम गरेको आरोप लगाए ।

नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट बञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्र माथि प्रहार हुन थालेपछि त्यसको रक्षाका लागि वर्तमान गठबन्धन बनेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस