महिला २०–२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, २० : ५४
महिला २०–२० क्रिकेट : नेपाल पुलिस क्लब विजयी

पोखरा । पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०–२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । 

११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो ।खरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो भने जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १०.२ ओभरमा ७ विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा नेपाल पुलिस क्लब विजयी भएको हो । 

खेलमा सर्वाधिक २५ रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले १६ रन, काजल श्रेष्ठले १६ रन, सम्झना खड्का २५ रन, अप्सरी बेगमले ४ रन, रेवती धामीले १४ रन, कविता जोशीले ८ रन र रूबिना क्षेत्रीले ९ रन जोड्दै उक्त योगफल बनाएका थिए भने बलिङतर्फ सबनम राई, संगिता राई, कविता जोशी, ईश्वरी बिष्ट र हिरुमई रायले समान १ विकेट लिएका थिए । 

दुई समूहमा विभाजित महिला क्रिकेट प्रतियोगितमा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह बी मा रहेको छ । जसमा कर्णाली प्रदेश, १ नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । समूह एु मा सशस्त्र प्रहरी, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २६ गते १ नम्बर प्रदेशको टिमसँग दोस्रो खेल र असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस