धनुषा–३ बाट राजेन्द्र महतो आउट, लोसपाका अनिल झा उम्मेदवार

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, ११ : १०
धनुषा–३ बाट राजेन्द्र महतो आउट, लोसपाका अनिल झा उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा उम्मेदवार जुली महतो र सत्तारूढ गठबन्धनको उम्मेदवार झाबीच प्रतिस्पर्धा हुनेछ।

०७४ सालको निर्वाचनमा तत्कालीन ९राजपा० बाट उम्मेदवारी दिएका राजेन्द्रलाई एमालेले अघोषित रूपमा पनि सघाएपछि उनले नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिलाई पराजित गरेका थिए।

आगामी निर्वाचनमा एमालेले आफ्नै उम्मेदवार उठाउने भएपछि राजेन्द्र सर्लाहीबाट उम्मेदवारी दिन गएका थिए। तर लोसपाको सत्तारूढ दलसँग चुनावी तालमेल मिलेपछि पुनः धनुषा ३ बाट उम्मेदवारी दिने सोचमा थिए। गठबन्धनले अन्तिम समयमा झालाई उम्मेदवार बनाइएको हो।

झा यसअघि रौतहट-१ बाट २१ हजार ४७२ मत ल्याएर निर्वाचित भएका थिए भने उनको निकट प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव १५ हजार ८७४ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस