सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

रासस

सोमबार, १७ असोज २०७९, २० : ४६
सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ ।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले राससलाई जानकारी दिनुभयो ।

राष्टिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहनुभएका हिमलाल पुरी पनि प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको बताउनुहुन्छ ।

आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको उहाँले सुनाउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस