दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ: नेता केसी

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १४ : ५७
दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ: नेता केसी

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दावी गरेका छन्।बिहीबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए

नेता केसीले भने, ‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निष्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामीभित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ। अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको एकातिर भने अर्कोतिर छिमेकीहरुको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली कांग्रेस नै हो।’

उनले न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिए। नेता केसीले भने, ‘दुई तिहाइ आउन नेपाली कांग्रेसले अत्यन्त मेहनत गर्नुपर्छ। टिकट वितरण गर्ने प्रणालीमा निष्ठावान, त्यागी र ज्येष्ठ सदस्यहरू जसले पार्टीमा विशिष्ट योगदान गरेका छन्, ती मानिसलाई टिकट दिएको खण्डमा यो सम्भव छ। कतिपय कुरा पार्टीमा आफ्नो नातागोता हेर्ने गरिन्छ, त्यो पद्धतिलाई त्यागेर, एकनासले गहन रूपमा वितरण गर्नुपर्छ। न्यायोचित रूपमा टिकट वितरण भएको खण्डमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको रूपमा सरकार बन्न सक्दछ। न्यायोचित रूपमा संस्थापन र संस्थापन इतर पक्षले अत्यन्त संयम भएर एकै ठाउँमा बसेर टिकट वितरण गरेको खण्डमा यो सम्भव छ, तर न्यायोचित टिकट वितरण नभएको खण्डमा त्यो परिस्थिति पनि नआउला भन्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस