चितवनमा म्यादी प्रहरीका लागि ३८ सय जनाको आवेदन

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, ०७ : ४५
चितवनमा म्यादी प्रहरीका लागि ३८ सय जनाको आवेदन

चितवन । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै छ। म्यादीका लागि चितवनमा तीन हजार ८३० जनाले आवेदन दिएका छन्।

आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्तालगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने उनले बताए।
प्रहरी प्रधान कार्यालयले अझै पनि चितवनको लागि म्यादी प्रहरीको कोटा भने खुलाएको छैन। कोटा विवरण नखुलाइँदा कति आवेदक छनौटमा पर्ने हुन भन्नेमा अन्यौलता सिर्जना भएको छ। वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ७०९ म्यादी प्रहरी भर्ना गरिएको थियो। म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ। म्यादी प्रहरीको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिने समय थियो।

म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा भोलि ९आइतबार०देखि हुँदै छ। नारायणगढ क्याम्पा चौरमा परीक्षा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ। पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ। उनीहरुको हकमा अन्र्तवार्ताको सूचना प्रकाशित गरिने बताइएको छ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ। आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ। म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ। म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन्।

प्रतिक्रिया दिनुहोस