दशैमा कस्तो मासु खाने कस्तो नखाने जानौ

एजेन्सी

शनिबार, ०८ असोज २०७९, १२ : ४८
दशैमा कस्तो मासु खाने कस्तो नखाने जानौ

एजेन्सी । दशैँ नै त्यस्तो चाड हो जसमा धेरैको पेटमा मिठो खानेकुरा पर्छ । वर्षौभरि मिठो मसिनो खान पुग्नेले यो चाडमा खानेकुरामा अझै धेरै खर्च गर्छन् । चाडबाड भन्ने बित्तिकै हाम्रो पहिलो ध्यान नै खानेकुरामा जान्छ । अझ सबैभन्दा ठूलो चाँड दशैँमा खानेकुराको महत्व नहुने कुरै भएन । दशैँमा अरु खानेकुरा भन्दा मासुको चर्चा सबैभन्दा बढि हुन्छ । अर्थात् दशैँमा सबैभन्दा धेरै खाइने चिज भनेकै मासु हो । साकाहारी बाहेक सबैजसोले दशैँमा मासु खाएकै हुन्छन् ।

हुनत नेपालीहरु विश्वमा आयको तुलनामा बढि मासु खानेमा अग्रपंक्तिमै आउँछन् र चाडबाडको बेला मासुको खपत निकै चुलिन्छ । चिकित्सकहरुका अनुसार मासुको सेवनमा होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण डेढ सय भन्दा बढि प्रकारका रोगको संक्रमणको खतरा हुने बताउँछन् । संक्रमित तथा राँगा, खसीबोका तथा अन्य मासुजन्य चौपायाको मासु खानुका साथै परम्परागत तथा फोहोर स्थानमा बध गर्दा समेत मासुमा विभिन्न रोगका किटाणुको संक्रमण हुन्छ र त्यस्तो मासु राम्ररी नपकाइकन खाँदा मानिसमा रोगको जोखिम बढि हुन्छ । धेरै दिनसम्म फ्रिजमा थन्क्याएर राखेको मासु पनि खानका लागि जोखिमपर्ूण हुन्छ । अझ पोलेको मासु तथा छोयला, सुकुटी लगायतका परिकारले पेटको क्यान्सर लगायतका खतरा बढाउने चिकित्सकहरुको भनाइ छ । पकाएको र नपकाएको मासुका भाँडा अलग्गै राख्नुपर्ने र सँगसँगै राखिएमा नपकाएको मासुका किटाणु पकाएको मासुमा संक्रमित भइ त्यसले मासु खानेको स्वास्थ्यमा असर पूराउन सक्छ । विज्ञहरुका अनुसार मृगौला तथा कलेजोका रोगीहरुले मासु सेवन गर्नु हानिकारक हुन्छ । स्वस्थ खसीबोका वा राँगा, कुखुरा लगायतको मासु प्रेसर कुकरमा झोलिलो बनाएर मज्जाले पकाएर खानु उपयुक्त हुन्छ । बढि मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन भने धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेर वा सुकुटी बनाएर राखेको मासु पनि संक्रमित हुने जोखिम भएकाले खानु राम्रो मानिदैन । छालामा विभिन्न रोगका किटाणुहरु हुनसक्ने खतरा बढि हुने हुनाले छाला फ्याँकेको मासु खानु उत्तम हुन्छ । त्यस्तैै राँगा, खसी, बंगुर जस्ता जनावरको रातो मासु भन्दा कुखुरा तथा माछा लगायतको मासु खानु उपयुक्त हुन्छ । यस्तो मासुमा कोलेस्ट्रोल कम हुने भएकाले मानिसको स्वास्थ्यमा असर हुँदैन । बोसोयुक्त मासुको अत्यधिक सेवनले पित्त थैलीको संक्रमण हुने खतरा हुन्छ र यसरी पित्त थैलीको पत्थरी भएकाको ज्यानै जोखिममा पार्न सक्छ । दशैँमा मासु, मदिरा तथा गुलियो र प्रोटिनयुक्त खानेकुरा तथा घिउतेल पनि बढि खाइने भएकाले त्यो मानव सरीरको मुटुका लागि समेत हानिकारक हुने चिकित्सकहरु बताउँछन् । त्यसैले मासुका साथै अन्य परिकारको सेवनमा सावधानी अपनाउने र अरु समयमा जस्तै चाडबाडमा पनि सन्तुलित भोजन गर्ने हो भने दशैँ स्वास्थ्यका लागि दशा बन्नेछैन ।

प्रतिक्रिया दिनुहोस