विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पार्‍यो अनुमति

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १६ : ५१
विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पार्‍यो अनुमति

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत रोकीएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गरे । चलचित्रको वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । चलचित्रको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने छ । विदेशी चलचित्रले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम भएकाले नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन ।

हिन्दी डबलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएका थिए । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा पुगेको थियो । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा रहेको थियो ।

निर्माता सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्र सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए ।

चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया मार्फत मात्र सेन्सर गर्न सकिने बताए पछि चलचित्रले विदेशी चलचित्र झैं १५ प्रतिशत विकास शुल्क तिरर सेन्सर अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस