सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १४ : ४७
सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा

काठमाडौं। नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।

प्रतियोगिताको फाइनलअघि आयाेजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहदैनौँ । घरेलु टिम हौं र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौं ।’ थापाले भने । 

प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्दी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ । 

प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगाामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेकाे बताए । ‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौं । अर्काे संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौं,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु । मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने । 

यसअघि नेपालले साविक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो । भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाललले त्यसअघि समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । 

थापाले घरेलु समर्थकले उर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे । ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौं । र, हाम्रो टिममा अहिले यो सबै छ । यसैकारण म विश्वस्त र खुशी छुु,’ थापाले भने । 

यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेकाे  बताए । 

 

प्रतिक्रिया दिनुहोस