प्रहरीलाई नागरिकमैत्री बनाउने अभियान शुरु

आइतबार, ०३ असार २०७५, १६ : २९
प्रहरीलाई नागरिकमैत्री बनाउने अभियान शुरु

रसुवा । नागरिक र प्रहरीबीचको समन्वय एवं सहकार्यमा अपराध र अपराधजन्य समस्या हल गर्न रसुवा प्रहरीले गृहकार्य अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रमुख शरत्कुमार थापा क्षेत्रीका अनुसार सामाजिक विकृतिविसंगतिविरुद्ध जनचेतना फैलाई नागरिकमैत्री प्रहरीको छविको विकास गर्ने उद्देश्यले टोलटोलमा पर्चा पम्प्लेटसहित चेतनामूलक अभियान शुरु गरिएको हो ।

अभियानअन्तर्गत विद्यालयमा सम्पर्क, सडक तथा ट्राफिक चेतना, लागुऔषध नियन्त्रण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जनस्तरबाट सुझाव एवं सूचना संकलन गरिने, अदालतको आदेश कार्यान्वयनअन्तर्गत फरार अपराधीको वासस्थान पहिचानबाट नियन्त्रणमा लिनेजस्ता विविध कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५३ मुद्दा परकोमध्ये सबै मुद्दा अनुसन्धान गर्न सफल भएको र सबैभन्दा बढी सार्वजनिक अपराध रहेको प्रहरीले जनाएको छ ।

अपराधका प्रकृतिमा कर्तव्य ज्यान, सरकारी छाप र सही किर्तेबाट नक्कली सवारी अनुमतिपत्र बनाएको, साइबर, अपराधजस्ता प्रकृृतिका घटना रहेको बताइएको छ । आव २०७१/७२ को अभिलेख अध्ययन गर्दा विभिन्न प्रकृतिका १९८ मुद्दा दायर भएको प्रहरी प्रमुखले बताउनुभयो ।

नेपाल–चीनबाट सामान ओसारपोसार गर्ने कन्टेनर चालकमध्ये ९५ प्रतिशतले मार्ग इजाजत एवं चालक अनुमतिपत्रविना चलाएको र पुराना कन्टेनर चलाउँदा बिग्रिएको र सडक अवरुद्ध गर्ने गरेको पाइएकाले गाडीको अवस्था, चालकसँगको कागजात रसुवा प्रदेशको सिमाना बेत्रावतीमै परीक्षण गरी प्रक्रिया नपुगेको कन्टेनरलाई रसुवा प्रवेशमा रोक लगाइएको सुरक्षा अधिकारीले बताए ।

एघार महिनामासडक अनुमतिविना चलाइएका छ हजार ७०० सवारी साधनलाई कारवाही गरी रु ५२ लाख ८४ हजार राजश्व दाखिला भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । अदालतको आदेश कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा विगतदेखि फरार रहेका १०८ जनामध्ये हालसम्म २१ जना नियन्त्रणमा लिन सफल भएको र ८७ जनाको खोजी तीव्र पारिएको प्रहरी प्रमुख क्षेत्रीले बताउनुभयो ।

जिल्लामा जिल्ला प्रहरी कार्यालय, सीमा प्रहरी चौकी र इलाका प्रहरी चौकी एक एक, प्रहरी चौकी नौ र अस्थायी प्रहरी बिट दुई छन् । नेपाल प्रहरीको दरबन्दी ३०६ जना रहे पनि अहिले २५० जना मात्र कार्यरत छन् । रसुवाको जनसंख्याको हिसाबले एक प्रहरीले एक हजार ७३२ नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता रहिआएको प्रहरीले जनाएको छ ।

गाउँपालिकामार्फत गाउँ गाउँमा सडक विस्तार भएकाले गाउँमा हुने घटना नियन्त्रण लिन सवारी साधनद्वारा छिटो पुग्न सहज भएको छ । सुरक्षा चुस्त पार्न १२ मोटरसाइकल र चार जीप परिचालन भइरहेको छ । नेपाल प्रहरीले राजमार्ग तथा विद्युत्गृह निर्माणस्थल, धार्मिक क्षेत्र गोसाइँकुण्ड, पर्यटकीय रेडपाण्डा पदमार्ग लाङ्टाङ, रसुवागढी—नाका क्षेत्रमा समेत विशेष प्रहरी गस्ती बढाएको छ ।

नेपाल प्रहरीले सुरक्षाका साथसाथै गाउँगाउँमा रहेको प्रहरीचौकीको पूर्वाधार व्यवस्थापन, जग्गाको भूस्वामित्व कायम, जिल्ला प्रहरी कार्यालय परिसरमा हेलिप्याड निर्माण, कारागार र प्रहरीको खाद्य सामग्री ढुवानीलाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट नयाँ सडक निर्माणजस्ता काम गरेको स्थानीय बुद्धिजीवीले बताएका छन् ।

यस्तै शान्ति सुरक्षा र अमनचयन कायम राख्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुधार कार्ययोजनाले समेत जिल्लाभित्र सुरक्षा व्यवस्था मजबुत पार्न सहज भएको प्रहरीले जनाएको छ ।

प्रजिअ कृष्ण पौडेलले सेवा प्रवाहमा सुधारका लागि ७१ बुँदे जिल्ला प्रशासन सुधार कार्ययोजना, २०७५ लागू गरेपछि सरकारी निकायको काम छिटोछरितो हुन थालेको नागरिक समाजले जनाएको छ । प्रजिअ पौडेलको प्रयासबाट जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्शले सिंहदरबारको अधिकार गाउँगाउँ पुगेको जनमानसमा विश्वास बढ्दै गएको सेवाग्राहीले बताएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस