चितवन । जिल्लामा चाड पर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनाव लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित गरी सुरक्षा योजना बनाइएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । अन्य समयमा पनि सुरक्षा कायममा कुनै कमी नभएको तर चाडबाडमा मानिसको आवतजावत र भीडभाड बढी हुने भएकाले थप सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए।
विगतका वर्षमा जस्तो यो वर्ष चाडपर्वको समयमा हुने अपराध नियन्त्रणले मात्रै नपुग्ने उनले बताए । निर्वाचनको समय नजिकिँदै गएकाले निर्वाचनमा सो समयमा हुनसक्ने आपराधिक गतिविधिलाई समेत मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको उनले जानकारी दिए ।
बढ्दो अपराधका प्रवृत्तिबारे हरेक गाउँटोलमा स्थानीय प्रहरीको सहकार्यमा सचेतनाको कार्यक्रम लैजाने तयारीमा कार्यालय रहेको छ । चितवनका मुख्य बजार क्षेत्र र आपराधिक हिसाबले जोखिम क्षेत्रमा प्रहरीले गस्तीलाई प्राथमिकता दिएको छ । राजनीतिकर्मीले पनि चाडबाडको अवसर पारेर चुनावी गतिविधि बढाउने भएकाले यसपटक चुनावसम्मका लागि योजना बनाइएको अधिकारीको भनाइ छ । चाडपर्वसँगै निर्वाचन लक्षित गतिविधिमा हुने घटना नियन्त्रणका लागि जिल्लामा छ सय प्रहरी परिचालन गर्न लागिएको छ ।
रात्रिकालीन सवारीमा आवश्यकताअनुसार सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिने उनले जानकारी दिए । चाडबाडको समयमा बैंक तथा वित्तीय क्षेत्र र भीडभाड हुने स्थानमा आर्थिक अपराध हुने गरेको भन्दै यस क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाइएको छ । त्यस्तै, सुनचाँदी पसल केन्द्रित गरेर सुुरक्षा प्रदान गरिएको छ । सादा पोसाकमा हुने प्रहरीले रेकी गर्ने र कुनै स्थानमा घटना भएमा तत्काल प्रहरी परिचालनका लागि क्युआरटी (क्विक रेस्पोन्स टिम) नै बनाएर काम गरिएको उनले बताए।
चितवन प्रहरीले चाडबाडको समयमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको समन्वयमा मुख्य र भित्री सडकमा आवश्यक मात्रामा सुरक्षा जनशक्ति खटाइने, मादक पदार्थ सेवन, अत्यधिक यात्रु सवारलगायत कारणले चाडबाडको समयमा बढी दुर्घटना हुने गरेको भन्दै विशेष ध्यान दिइएको छ ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने अधिकारीले बताए । उनले भने, “केन्द्रीय बस ट्रमिनल, पुलचोक, पोखरा बसपार्क र मुग्लिनमा यात्रु सहायता कक्ष राख्ने तयारी गरिएको छ ।” यस पटक चाडपर्व सुरक्षा योजनामा थम जनशक्तिका लागि सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समेत समन्वय गरिने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, १३ : २८
लेखकबाट थप