काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाए ।
नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, १५ : ११
लेखकबाट थप