हल दिएन भनेर मेराे बदनाम गर्ने काेसिस गरियाे: भुवन केसी

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १४ : ५१
हल दिएन भनेर मेराे बदनाम गर्ने काेसिस गरियाे: भुवन केसी

काठमाडाैँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताए।उनले भने,‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन। संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ। तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरूले खेलेका सिनेमालाई हुनुपर्छ। बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ। अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन। नेपाली चलचित्रले ६० प्रतिशत ल पाउनुपर्छ। नेपाली चलचित्र कमजोर छ भने पनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ।’

कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो। फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरूको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो।

चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ। चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन्। सोसल ड्रामा र लभ स्टोरीमा आधारित फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ।

अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ।

प्रतिक्रिया दिनुहोस