मदन जयन्ती भव्य रुपमा मनाईने

शनिबार, ०२ असार २०७५, १७ : ५२
मदन जयन्ती भव्य रुपमा मनाईने

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले असार १४ गते स्वर्गीय मदन भण्डारीको जन्म जयन्ती भव्य रुपमा मनाउने भएको छ । फाउण्डेशनको शनिबार भरतपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले मदन जयन्ती भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
फाउण्डेशनले मदन जयन्तीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम गर्ने जनाएको छ । उक्त अवसरमा फलफूलका विरुवा रोपिने जनाईएको छ । वृक्षारोपण कार्यका लागि स्थान छनोटका गर्न बैठकले बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद सुवेदी र सदस्यद्वय टिकाराम रिजाल र गौरस तामाङ्ग रहेको एक समिति पनि निर्माण गरेको छ ।
बैठकले सचिवालय विस्तार गरेको छ । यस अघि पदाधिकारीलाई नै सचिवालयको जिम्मेवारी दिईएकोमा बैठकले शान्ती अधिकारी, शिवकुमारी गोतामे र नारायणी सापकोटालाई सचिवालयमा थप गरेको छ । यसैगरी फाउण्डेशनले आजीवन र साधारण सदस्य वितरण गर्ने जनाएको छ ।


फाउण्डेशनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश नं. ३ का कृषि, सहकारी तथा भूमिसुधार मन्त्री दावा दोर्जे लामाले फाउण्डेशनले गोष्ठी र छलफल गर्नुभन्दा फलफूलका विरुवा रोपेर उत्पादन बढाउने कार्य गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले फलफूलको उत्पादन बढाउन कार्य गरिरहेको बताउँदै मन्त्री लामाले वन क्षेत्रमा पनि फलफूलका विरुवा रोपेर उत्पादन बढाउने कार्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो “वनमा सालको रुख हुर्काएर प्रतिफल लिन एक सय वर्ष लाग्छ, फलफूलका विरुवा रोपेमा तीन चार वर्षमा नै प्रतिफल लिन सकिन्छ ।” उहाँले वन क्षेत्रमा फलफूल रोपेर फलफूल किसानको हुने र फलफूलको रुख वन कार्यालयको हुने गरी व्यवस्थापन गरिने बताउनुभयो । वनको वर्गीकरण गरेर फलफूल, जडिबुटी रोपेर वनलाई उत्पादनसँग जोडिने उहाँले बताउनुभयो ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको बाटोमा हिँडेर यहाँसम्म आईपुगिएको बताउँदै उहाँले अहिले जनताको बहुदलीय जनवाद ओझेलमा परेको बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता देवीप्रसाद ज्ञवालीले जनताको बहुदलीय जनवादको बाटोमा हिड्न सके मात्रै मदन भण्डारीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
बैठकमा बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिव श्याम बिष्ट लगायतले फाउण्डेशनले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्ने बताउँदै मदन जन्तीलाई भव्य रुपमा मनाईने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस