पहिरोको चपेटामा रामतोला बस्ती

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ११ : ३२
पहिरोको चपेटामा रामतोला बस्ती

बागलुङ । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिरोले ११ घरका वासिन्दा ७ दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिरोले बग्ने डरले अधिकांश घरका वासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् । 

डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगर प्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । १ हप्ताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा १ दर्जन घर जोखिममा परेका छन् । 

पहिरोले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । ‘पानीका २ वटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार छ,’ स्थानीय ढालनाथ शर्माले भने, ‘हामी त घर न घाटको भएका छौं, अब कहाँ बस्ने, के खाने ?’

उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए । उनले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोखे । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन् । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिरोले २ वटा खानेपानीका ट्यांकी बगाएपछि ७ दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् । 

दर्जनौं विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताइन् । ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौं,’ उनले भनिन्, ‘अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।’

रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिरोले ११ घरका वासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् ।

केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिरोले बग्ने डरले अधिकांश घरका वासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस