निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, ०९ : ३५
निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान भोलि सक्ने तयारी गरिएको छ।

महाभियोग सिफारिस समितिले भोलि बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ। उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले मंगलबार सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने बताएका छन्।

बयानको चौथो दिन आइतबारसम्म ३५ प्रश्न सोधिएको थियो। समितिले हिजो मात्रै २४ वटा प्रश्न सोधेको थियो। समितिले उनका लागि ४२ प्रश्न तय गरेको छ। जवाफ दिने क्रममा जबराले आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाइरहेका छन्।

जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सकिने भएपछि समितिले यसै महिनाको अन्त्यसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ।

संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस